साभार स्रोत: अनलाइन खबर
प्रतिसेयर आम्दानी ९२ रुपैयाँ , चालू पुँजी कर्जा अनुपात ५० प्रतिशत
२८ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०६९/०७० मा एभरेष्ट बैंक लिमिटेडले १ अर्ब ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ । बैंकले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी ९२ रुपैयाँ (रु. ९१.८८) पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९ करोड रुपैयाँ खुद मुनाफा गरेको एभरेष्टले गत आवमा ३५ प्रतिशतको वृद्धि हासिल गरेको हो ।एभरेष्ट बैंकले मुनाफामा नबिल बैंकलाई नगण्य अन्तरले जितेको छ । नबिल बैंकले गत साता प्रकाशन गरेको वित्तीय विवरणअनुसार, प्रतिसेयर आम्दानी करिब ९१.२४ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा नबिल बैंकको प्रतिसेयर आम्दानी ८३.५७ रुपैयाँ थियो भने एभरेष्ट बैंकको ८८.५५ रुपैयाँ थियो । एभरेष्ट बैंकमा विदेशी रणनीतिक साझेदारको रुपमा भारतको पञ्जाब नेसनल बैंकको २० प्रतिशत सेयर लगानी रहेको छ ।
नाफा रकममा भने नबिल बैंक एक नम्बरमा रहेको छ । सो बैंकले २ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । नबिलको चुक्ता पुँजी बढी भएको कारण प्रतिसेयर आम्दानी एभरेष्टभन्दा कम भएको हो । पाँच वर्षअघिसम्म पहिलो नम्बरको दौडमा रहने स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफू तेस्रो स्थानमा रहेर अरुलाई प्रतिस्पर्धाको बजार छोड्दिंदै आएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको मुनाफाको आधारमा चार्टर्ड बैंकको वाषिर्क प्रतिसेयर आम्दानी ६० रुपैयाँ रहेको छ ।एभरेष्ट बैंकले गत वर्ष सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिएको थियो । त्योभन्दा अघिल्लो वर्ष ५० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिएको भए पनि सेयर मूल्य बढी भएको कारण ३० प्रतिशत बोनस सेयरबाट सेयरधनीले बढी लाभ पाएका थिए ।एभरेष्ट बैंकको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यस बैंकमा क्रमशः साधारण सेयरमा परिणत हुने १६ करोड रुपैयाँको पि्रफरेन्स सेयर पनि रहेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र वाणिज्य बैंकले चुक्ता पुँजी नै २ अर्ब पुर्याउनुपर्ने व्यवस्था लागू गरेका कारण एभरेष्ट बैंकले सेयरधनीलाई बोनस सेयर दिनुपर्ने भएको छ । यसअघि १ अर्ब ६० करोड चुक्ता पुँजी र बाँकी ४० करोड जगेडा कोष भए पनि हुने व्यवस्था रहेको थियो ।
एभरेष्ट बैंकको जगेडा रकम ३ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ रहेको छ । एभरेष्ट बैंकको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ पुगेको छ, जुन नेपाली बैंकहरुमा सबैभन्दा बढी हो । निक्षेप र कर्जा रकम उल्लेख्य वृद्धि गरेको भए पनि बैंकको पुँजीकोष पर्याप्तता अनुपात बढेको छ । बैंकले गत आर्थिक वर्षमा ४७ करोड रुपैयाँको डिबेञ्चर बिक्री गरी पुँजीकोष वृद्धि गरेको थियो ।अघिल्लो आर्थिक वर्षको अन्त्यमा कूल जोखिम भारित सम्पत्तिमा ११ प्रतिशत रहेको बैंकको पुँजी कोष गत असारमा १३.२१ प्रतिशत पुगेको छ । वाणिज्य बैंकले जोखिम भारित सम्पत्तिको १० प्रतिशत पुँजीकोष (चुक्ता पुँजी र जगेडा तथा अन्य पुँजी) पुर्याउनुपर्ने व्यवस्था रहेको छ ।कर्जा प्रवाहमा क्षेत्रअनुसार जोखिमको मात्रा बढी र कम हुने गर्छ । १ करोड रुपैयाँ प्लटिङ्ग कर्जा प्रवाह गर्दा १ करोड ५० लाखको जोखिम भार गणना हुन्छ भने सरकारलाई दिएको कर्जामा जोखिम भार गणना गर्नु पर्दैन ।
एभरेष्ट बैंकले गत आर्थिक वर्षमा स्वदेशी निक्षेप १४ प्रतिशत वृद्धि गरी ४७ अर्ब ६७ करोड रुपैयाँबाट ५४ अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ । यस्तै, कर्जा रकम पनि ३६ अर्ब ६२ करोड रुपैयाँबाट २१ प्रतिशत वृद्धि गरी ४४ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ ।यस बैंकले जग्गा खरिद र प्लटिङ्गमा न्यून कर्जा प्रवाह गरेको छ भने आवासीय घर कर्जामा धेरै रकम प्रवाह गरेकेा छ । जग्गामा प्रवाह भएको कर्जा ३७ करोड ३५ लाख रुपैयाँ छ, जुन कूल कर्जा रकमको १ प्रतिशतभन्दा कम हो । १ करोड रुपैयाँभन्दा कमको घर कर्जा भने बैंकले ५ अर्ब ३३ करोड रुपैयाँ प्रवाह गरेको छ, जुन कूल कर्जाको १२ प्रतिशत हो ।बैंकले सेयर धितोमा पनि ४ करोड ३५ लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेको छ, जुन कूल कर्जा रकमको ०.०१ प्रतिशत हो । बैंकले सबैभन्दा बढी व्यापारिक र औद्योगिक कम्पनीहरुलाई चालू प्रकृत्तिको कर्जा प्रवाह गरेको छ । ओभर ड्राफ्ट, ट्रस्ट रिसिप्ट कर्जा (आयात कर्जा) र चालू पुँजी कर्जा शीर्षकमा बैंकले २२ अर्ब ६ करोड रुपैयाँ प्रवाह गरेको छ, जुन कूल कर्जामा ५० प्रतिशत हो ।
बैंकले गत आर्थिक वर्षमा भाका नाघेको ऋणबापत १० करोड रुपैयाँ प्रोभिजन गरेको छ । गत वर्षको नाफामा बैंकले भाका नाघेको ऋण नियमित गरेर राइट ब्याक भएको रकमको कुनै योगदान छैन । बैंकले सञ्चालन नाफाबाट खुद मुनाफा वृद्धि गरेको हो ।बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड रुपैयाँबाट २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । त्यसबाहेक बैंकले ६१ करोड ५० लाख रुपैयाँ अन्य सेवा प्रवाहबाट आम्दानी गरेको छ । एभरेष्ट रेमिट बैंकको मुनाफा वृद्धि गर्ने मुख्य माध्यम हो ।बैंकले गत आर्थिक वर्षमा कर्मचारी खर्च अघिल्लो वर्षको ३५ करोड रुपैयाँबाट वृद्धि गरेर गत वर्ष ४६ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, अन्य सञ्चालन खर्च ४७ करोड रुपैयाँबाट ५१ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानीको तुलनामा प्रशासनिक खर्च २९ प्रतिशत भएको देखिन्छ । कूल बासलात रकम ६६ अर्ब ५५ करोड रुपैयाँमा यस बैंकको प्रशासनिक खर्च अनुपात १५ प्रतिशत रहेको छ ।
एभरेष्ट बैंकको निस्क्रय कर्जा अनुपात ०.६२ प्रतिशत रहेको छ । यो बैंक पुँजी लागत न्यून भएको बैंकमध्ये पर्दछ । बैंकले निक्षेपमा न्यून ब्याज दिने हुँदा पुँजी लागत ४.५३ प्रतिशत मात्र रहेको छ । अघिल्लो वर्ष ६.६६ प्रतिशत रहेकोमा अझै घटेको हो ।बैंकले प्रवाह गर्ने कर्जाको ब्याज दर तुलनात्मक रुपले औसतभन्दा कम रहेको बैंकले प्रकाशन गरेको बेस रेटले देखाउँछ । यस बैंकले बेस रेट ७.१६ प्रतिशत देखाएको छ । यस आधारमा बैंकले ११/१२ प्रतिशत ब्याज दरमा कर्जा प्रवाह गर्ने क्षमता रहेको देखिन्छ ।यद्यपि बैंकको स्प्रेड दर भने केन्द्रीय बैंकले तोकेको मापदण्ड नाघेको छ । केन्द्रीय बैंकले ५ प्रतिशत सीमाभित्र रहने निर्देशन दिएको कर्जा र निक्षेपबीच ब्याज दर अन्तर यस बैंकले ५.६८ प्रतिशत बिन्दु रहेको जनाएको छ ।बैंकको पुँजीकोष समायोजित कर्जा निक्षेप अनुपात ७२ प्रतिशत रहेको छ । गत चैतमा ७८ प्रतिशत रहेको अनुपात त्यसयता निक्षेपमा एक्कासी ७ अर्ब वृद्धि भएपछि घटेको हो ।
see more at:
http://www.onlinekhabar.com/2013/08/104705/
Comments[ 0 ]
Post a Comment